किशोर पाठक ,चितवन,भदौ १९- मुख्य राजमार्गको हेटौंडा नारायणगढ सडकअतर्गत चितवन–मकवानपुर जोड्ने लोथरखोलाको सतहले पक्की पुल छोएपछि स्थानीयबासी त्रसित भएका छन्। वर्षा सुरु हुदा समेत खोलाको सतह नखोलिँदा बस्तीमा बाढी पस्ने खतरा बढेको हो .
केही वर्षदेखि उच्च जोखिममा रहेको पुल संरक्षणको उचित पहल नहुँदा चितवनका सात गाविस र एक नगरपालिकाका केही भागसमेत डुबानको जोखिममा छ। खोलाको धार परिवर्तनसँगै बाढीले बगाएर ल्याएका गिटी, बालुवा पुलमुनि थुप्रिएपछि पानीको निकास रोकिने अवस्थामा पुगिसकेको स्थानीय तोयानाथ पाठकले बताए। पुल र खोलाको सतहको दूरी करिब एक मिटर पनि छैन। पुलका चारवटै पिल्लर गिटी, बालुवाले पुरेको छ। निकुञ्जले गिटीवालुवा निकासा गर्न दिएको छैन, ‘पुलसँगै मानव बस्ती बगाए त्यसको जिम्मेवार को ?, स्थानीय प्रवीन शर्माले भने- अब हाम्रो जिम्मा निकुञ्जले नै लिनुपर्छ।
पुल बगाएको खण्डमा चितवनको पूर्वी क्षेत्रको पिप्ले, भण्डारा, कुमरोज, बछ्यौली, खैरहनी, कठार, चैनपुरसहितका सात गाविस र रत्ननगर नगरपालिकाका केही भाग बगाउने संविधान सभाका सभासद्समेत रहेका राप्ती लोथर ड्याक संरक्षण समितिका कोषाध्यक्ष लालमणि चौधरीले बताए। खोला पसेमा यो क्षेत्रका साँढे दुई लाखभन्दा बढी सर्वसाधारणको ज्यान बाढीको जोखिममा पर्छ। निकुञ्जले भने ऐनअनुसार उठाउन नपाउने भएकाले प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
त्यस्तै पुलसँग जोडिएका मकवानपुर मनहरी गाविसका केही गाउँ पनि बाढीको जोखिममा छन्। यता सडक विभाग चितवनले भने पुल नै सार्नुपर्ने बताएको छ। बगरको सतह बढेकाले अब खोलेर मात्र सम्भव नहुने यसको माथि हुनेगरी अर्कै पुल निर्माण गर्नुपर्ने डिभिजन प्रमुख अशोक तिवारीले बताए । २०३४ सालमा ग्यामन इन्डियाले पुल निर्माण गरेको हो। एक सय ५० मिटर लामो पुल पूर्व-पश्चिम राजमार्गको हेटौंडा नारायणगढ सडकमा पर्छ। तत्कालीन समयमा पुलमुनिको सतह ९00 मिटर लामो भए पनि अहिले पूरै गेगरले भरिएर एक मिटरमा झरेको छ