Wednesday, March 14, 2012

आत्महत्याः एक विकराल समस्या



हरेक दिन दस नेपाली युवाले आत्महत्या गर्नेगरेको डरलाग्दो सामाजिक तस्बिर नेपाल प्रहरीको अनुसन्धानले बाहिर ल्याएको छ । प्रहरीले पछिल्लो तीन वर्षमा गरेको अनुसन्धानअनुसार आत्महत्याको कारण विशेषगरी गरिबी र बेरोजगारी देखिएको छ । अनुसन्धानले ६० प्रतिशत युवाको आत्महत्याको कारण बेरोजगारी र गरिबी रहेको देखाएको छ । त्यसैगरी महिलामाथि हुने हिंसा र मानसिक समस्या पनि आत्महत्याका प्रमुख कारण हुन् ।

दोस्रो जनआन्दोलनपछिको राजनीति स्थिर र सरकार जनमुखी बन्न नसकेको यो गतिलो उदाहरण हो । हालसम्म जनताले झेलेका दुई सरकारका बेरोजगारी दर घटाउने प्रतिबद्धता कार्यान्वयनमा तथ्यांकले प्र्रश्न खडा गरिदिएको छ । देशको गलत राजनीतिको प्रभाव समाजमा कसरी परिरहेको छ भनेर मूल्यांकन गर्ने यो प्रमुख आधार बन्न पुगेको छ ।

आत्महत्याका घटना व्यक्तिगत हुन सक्छन् तर ती प्रत्यक्षरूपमा राज्यको नीति निर्माणसँग जोडिएका हुन्छन् । राज्यका हरेक नीतिले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । यस अर्थमा दैनिक दस नेपालीले आत्महत्या गर्नु भनेको असफल राज्यको संकेत पनि हो । किनकी राज्यकै सुरक्षा निकायको अनुसन्धानले देखाउँछ कि नागरिकले राज्यबाट पाउनुपर्ने सुविधा अभाव आत्महत्याको कारण हो ।

प्रहरीको अनुसन्धानमा देखिएको अर्को महत्त्वपूर्ण विषय यो पनि हो कि समग्रमा ४५ प्रतिशतले गरिबीका कारण आत्महत्या गर्ने भए पनि उपत्यकामा भने दुई प्रशितले मात्र गरिबीका कारण आत्महत्या गर्छन् । सहर र गाउँबीचको आर्थिक दूरीलाई पनि यस तथ्यांकले प्रष्टयाएको छ ।

सबैभन्दा डरलाग्दो तस्बिर यो हो कि आत्महत्या गर्नेमध्ये अधिकांश धेरै युवा तथा प्रौढ छन् । तथ्यांकअनुसार ७५ प्रतिशत आत्महत्या उक्त समूहका व्यक्तिले गर्दछन् । राष्ट्रनिर्माणका लागि खट्ने जनशक्तिको यो निराशावादी मनोविज्ञानको समीक्षा सरकारले आफ्नो नीति र कार्यक्रमका कागजमा हैन, कार्यान्वयनमा खोज्नुपर्ने बेला भइसकेको छ ।

हुन त देशका गलत राजनीतिको प्रभाव राज्यका हरेक अंगमा पर्दछन् । २०४६ सालमा प्रजातन्त्र आए पनि त्यसयता गठन गएका कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गरेनन् । अर्थात् राजनीतिक किचलोमै २० वर्ष बिते । दोस्रो जनआन्दोलनयता पनि पुरानै अवस्था दोहोरिएको छ । जनआन्दोलन-२ पछि हालसम्म गठन भएका दुईवटा सरकारको चुनौती सरकार टिकाउनु मै रहे र वर्तमान सरकार पनि त्यो अवस्थाबाट मुक्त छैन । निश्चय पनि जनआन्दोलनपछिका सरकारहरूको प्राथमिकता शान्तिप्रक्रियाको तार्किक निष्कर्षसहित संविधान निर्माणका लागि आवश्यक सहयोग जुटाउनु रहँदै आएको छ । तर सँगसँगै विकास र सुशासनको जिम्मेबारीबाट सरकारले मुक्ति पाउँदैन । त्यसकारण घोषित प्राथमिकतामा सरकारहरू चुक्दै जानुको नकारात्मक परिणाम युवामात्र हैन हरेक उमेर समूहले व्यहोर्दै आएको छ । कू-शासनका कारणहरूले निम्त्याएको आत्महत्याका शृंखला राज्यका लागि अपूरणीय क्षति हो । राज्यको नीति निर्माण र त्यसको कार्यान्वायन गर्नेहरूले बेलैमा सोचेनन् भने आत्महत्या देशको एउटा विकराल समस्या बन्न सक्छ ।

मेरो चितवन

Saraswati Rijal

सरस्वती रिजाल

कति सुन्दर कति प्यारो मेरो चितवन
जीवन्त भई बाँचेको छ मेरो चितवन
नेपाल नै मुटुभित्र मीठो सजाएर
एकत्वमा हाँसेको छ मेरो चितवन ।

जता हेर्यो उतै राम्रो मेरो चितवन
प्रेमैप्रेमको फूल छर्ने मेरो चितवन
कष्ट बोकी सधैँ–सधैँ हाँसिदिन सक्ने
लैबरीको भाका भर्ने मेरो चितवन ।

सतनचुली सिराइचुली उषासँगै हाँस्छन्
मयुर, गैँडा, मिर्ग, हात्ती मुस्कुराउँदै नाच्छन्
थरीथरी पक्षी गाउँछन् भाका फेरीफेरी
सबै आफै मग्न हुन्छन् चितवन हेरीहेरी ।

शान्तिकुञ्ज, सौराहा र टाइगरटपझैँ ठाउँ
थरीथरी गोही बाँच्ने कसराको नाउँ
कसले भुल्न सक्छ यहाँ बीसहजारी ताल
तालैतालमा चलेको छ चितवन चाल ।

उपरदाङगढीसँग चितवनको नाता
चित्रसारी खोलिन्छ चितवनको खाता
आश्रम वाल्मीकिमा लवकुश, अझै खेल्छन् रम्दै
सीता माता बस्छिन् अझै, रामनाम थप्दै ।

अति पुण्य तीर्थ कल्पबासी बस्ने घाट
तेत्तीसकोटी देवताको धाम देवघाट
देवघाट, गोद्धक अनि विक्रमबाबा मेला
सबैथरी सबैजना यहीँ हुन्छन् भेला ।

रापती र खगेरीको यही हो बग्ने थलो
भूमि हराभरा पार्दै गरेका छन् भलो
सबलाई लोभ्याउँदै नारायणी बाँचेकी छिन्
प्रकृति’नि मुस्कुराउँदै यहीँ हाँसेकी छिन् ।

कृषि, शिक्षा, स्वास्थ्यको, हो यो महासिन्धु
व्यापार अनि यातायातको एउटै केन्द्रबिन्दु
ऐतिहासिक, पौराणिक अनि प्राकृतिक
पर्यटनको रमणीय ठाउँ यही हो एक ।

फगुवा र जितियाझैँ अनेक चाडपर्व
थरीथरी संस्कृति छन् थरीथरी धर्म
अनेक भाषाजातिको, हो यो फूलबारी
चितवन विविध बनेको छ अनेक फूल सारी ।

चितावन, सीतावन वा होस् चित्रवन
सबको मुटु सबको धड्कन यही हो चितवन
मोहिनीझैँ ओठमा मुस्कान मीठो सजाएर
स्वागत गर्दै बसेको छ मेरो चितवन ।
आँपटारी, नारायणगढ, चितवन ।

चितवन महोत्सव स्मारिका– ७, २०६५ बाट साभार ।

सफलताका १० सुत्रहरु


किशोर पाठक काठमाडौं :-

खतरा सँग नडराउनुहोस:यदी तापाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ। तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ।

२.सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस:

"उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

३.आफ्नो लक्षमा दृढ रहनुहोस:

आफुले के गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनी काम सम्पन्न हुन्छ। त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनु होस र जे जस्तो दुख आईपरे पनी त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस।

४.स्वास्थ्य प्रती ध्यान दिनुहोस:

जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामी काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ्य प्रती विषेश ध्यान दिनुहोस जसको लागी नियमित व्यायाम गर्नुहोस।

५.एकताबद्द हुन सिक्नुहोस:

कुनै कामहरु यस्ता पनी हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ। त्यसैले जहिले पनी एकतामा विश्वाश गर्नुहोस। एकताको बल सधै बलियो हुन्छ।

६.केही कुरा पनी सिक्न पछी नपर्नुहोस:

आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।

७.आराम गर्नु होस:

सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काही आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनी आफ्नो उपस्थिती जनाउनुहोस जसले गदा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस।

८.लक्ष निर्धारण गर्नुहोस:

म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदी कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस।

९.खुसी रहने कोसिस गर्नुहोस:

आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस।

१०. असम्भव केही पनी छैन:

संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी तपाईले गर्न सक्नुहुन्छ।