विभागले गुँदपाक भण्डारका सञ्चालक मनेन्द्रलाल मास्के र मदन बाबा मास्केविरुद्ध गत मंगलबार मुद्दा दर्ता गराएको हो।
विभागले सरकारी वकिलको रायमा जिल्ला अदालतमा मुद्दा दर्ता गराएको निरीक्षण अधिकृत कमलबहादुर थापाले बताए। 'पटक-पटक बयानका लागि बोलाउदा नआएपछि अनुगमनपछि उनीहरुले दिएको स्पष्टिकरणसहित मुद्दा दायर गरेका हौ,' थापाले भने।
विभागले दायर गरेको मुद्दामा गुँदपाक भण्डार सञ्चालकले उपभोक्ता स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमको उपभोग्य वस्तु उत्पादन र बिक्री गरेकाले हदैसम्मको कारबाही गर्न माग गरिएको छ। उपभोक्ता संरक्षण ऐन-२०५४ अनुसार मुद्दा दर्ता भएको हो। ऐनको दफा १०(ङ)मा यस्ता वस्तु र सेवा उत्पादन एवं बिक्री गर्न नपाइने उल्लेख छ।
ऐनको दफा १८ (ङ)मा उपभोक्ताको ज्यानमा खतरा पुग्ने भएमा १४ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ। गुँदपाक भण्डारबाट अनुगमनको क्रममा गत भदौ १९ गते संकलित नमूना दुषित र हानिकारक किटाणुयुक्त भएको खाद्य प्रयोगशालले प्रमाणित गरेपछि विभागले १४ वर्ष कैद माग गर्दै मुद्दा दायर गरेको हो।
गत भदौ १९ गते सरकारी अनुगमन टोलीले अनुगमन गर्दा भण्डारको ताहाचलस्थित कारखानामा दुषित मिठाइबाट गुँदपाक र पुष्टकारी बनाइरहेको भेटिएको थियो। दुषित मिठाइबाट गुँदपाक र पुष्टकारी बनाएको पाइएपछि अनुगमन टोलीले कारखाना र पसल सिलबन्दी गरेको थियो।
सञ्चालकलाई भने कालोबजार ऐनअनुसार भदौ २२ गते पक्राउ गरिएको थियो। उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १५ लाख धरौटीमा गत असोज १५ गने छाडेको थियो। मुद्दाको फैसला भने हालसम्म भएको छैन। यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि गुँदपाक सञ्चालकविरुद्ध खाद्य ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइसकेको छ।
