मेरो चितवन
कति सुन्दर कति प्यारो मेरो चितवन
जीवन्त भई बाँचेको छ मेरो चितवन
नेपाल नै मुटुभित्र मीठो सजाएर
एकत्वमा हाँसेको छ मेरो चितवन ।
जता हेर्यो उतै राम्रो मेरो चितवन
प्रेमैप्रेमको फूल छर्ने मेरो चितवन
कष्ट बोकी सधैँ–सधैँ हाँसिदिन सक्ने
लैबरीको भाका भर्ने मेरो चितवन ।
सतनचुली सिराइचुली उषासँगै हाँस्छन्
मयुर, गैँडा, मिर्ग, हात्ती मुस्कुराउँदै नाच्छन्
थरीथरी पक्षी गाउँछन् भाका फेरीफेरी
सबै आफै मग्न हुन्छन् चितवन हेरीहेरी ।
शान्तिकुञ्ज, सौराहा र टाइगरटपझैँ ठाउँ
थरीथरी गोही बाँच्ने कसराको नाउँ
कसले भुल्न सक्छ यहाँ बीसहजारी ताल
तालैतालमा चलेको छ चितवन चाल ।
उपरदाङगढीसँग चितवनको नाता
चित्रसारी खोलिन्छ चितवनको खाता
आश्रम वाल्मीकिमा लवकुश, अझै खेल्छन् रम्दै
सीता माता बस्छिन् अझै, रामनाम थप्दै ।
अति पुण्य तीर्थ कल्पबासी बस्ने घाट
तेत्तीसकोटी देवताको धाम देवघाट
देवघाट, गोद्धक अनि विक्रमबाबा मेला
सबैथरी सबैजना यहीँ हुन्छन् भेला ।
रापती र खगेरीको यही हो बग्ने थलो
भूमि हराभरा पार्दै गरेका छन् भलो
सबलाई लोभ्याउँदै नारायणी बाँचेकी छिन्
प्रकृति’नि मुस्कुराउँदै यहीँ हाँसेकी छिन् ।
कृषि, शिक्षा, स्वास्थ्यको, हो यो महासिन्धु
व्यापार अनि यातायातको एउटै केन्द्रबिन्दु
ऐतिहासिक, पौराणिक अनि प्राकृतिक
पर्यटनको रमणीय ठाउँ यही हो एक ।
फगुवा र जितियाझैँ अनेक चाडपर्व
थरीथरी संस्कृति छन् थरीथरी धर्म
अनेक भाषाजातिको, हो यो फूलबारी
चितवन विविध बनेको छ अनेक फूल सारी ।
चितावन, सीतावन वा होस् चित्रवन
सबको मुटु सबको धड्कन यही हो चितवन
मोहिनीझैँ ओठमा मुस्कान मीठो सजाएर
स्वागत गर्दै बसेको छ मेरो चितवन ।
आँपटारी, नारायणगढ, चितवन ।
चितवन महोत्सव स्मारिका– ७, २०६५ बाट साभार ।

No comments:
Post a Comment